निर्मल आनन्दका कविताहरू
1.वसन्तमा यसपाली
केही बद्लिएन
वसन्तमा
यसपाली।
न बाबाको फाटेको चप्पल
न कान्छीको जामा
न आमाको चौबन्दी
बद्लियो सरकार मात्र।
राजनेता मात्र।
जस्तो थियो, त्यस्तै छ
घरको पुरानो छाना।
लाले पुँड़े जोत्ने खिएको हलो।
अलन्तरमा पर्यो
ठूलीको कलेज भर्ना।
पहेंला पात मात्र खसिरह्यो हाम्रो सपनामा।
बद्लिएन यसपालि पनि केही
वसन्तमा।
2.
कॉंसाको गिलास
यो कॉंसाको गिलास
जसमा कुँदिएको छ बाबाको नाम
बाबाको नाम हो कि इतिहास।
टाड़ाबाट आउने घामको उज्यालोमा
जब राख्छिन् आमा
अरू वर्तनहरूको माझ त्यसलाई
सबैभन्दा बेसी चम्किन्छ त्यो।
गिलास
जसलाई किनेका थिए बाबाको बाबाले।
बाबा रहेनन्
न रहे बाबाका बाबा
तर अझ छ यो गिलास।
यो गिलास छ कि बाबा।
3.बाबा
तिमीलाई सन्धी स्वीकार छैन
कहिले सकिन्छ तिम्रो युद्ध?
तिम्रो झोलामा छ सधैँ
स्वाभिमानको किताब।
मलाई थाहा छ बाबा
अकबर राणा जस्तो
हुँदैन तिम्रो इतिहास
किन भने
उनी राज्य जित्थे
तिमी रोटी जित्छौ।
4.माछा
माछा
चारो मात्र देख्छ।
चारो बोकेको बल्छी देख्दैन।
त्यो सानो नर देख्दैन
जसमा बॉंधिएको छ चारो
नदेख्छ टॉंगो
जसमा बॉंधिएको छ नर।
त्यो हातलाई पनि देख्दैन
जसले समात्छ
टॉंगो।
माछा
देख्छ यी सब
जब उ पानी बाहिर हुन्छ।
5.सपना
सॉंझ हुने बित्तिकै
पंछी जस्तो पखेटा फैलाएर आउँछ
सपना
अनि रात हुने बित्तिकै अभीप्साहरूमा बद्लिन्छ।
अनि रातभरि
जगमगाइबस्छ
निद्राको कालो वृक्ष।
6.गाउँको बिहान
चराहरूभन्दा पनि पहिल्यै उठ्छन्
बाबा।
उनी भन्दा पहिले नै उठ्छ तर
उनको वृद्ध खोकी।
उठ्ने बित्तिकै ढोग्छन् पृथ्वीलाई
अनि खुट्टा राख्छन्
भुँइमा।
त्यसपछि ब्युँझन्छन् निद्राबाट
रातभर अँध्यारोमा डुबेर गॉंठो परेका गालीहरू।
त्यसपछि ब्युँझन्छ घर
ब्युँझन्छ गाउँ।
7. नयॉं वर्ष
उज्यालो छ
मेरो स्वागतमा
दिनको नयॉं पृष्ठ।
यसैमा लेख्नु छ मैले
आफ्नो कथा
समयको नीबबाट।
यसलाई बँचाउनु छ
आगोसित
रगतको छिटासित।
नवीन नीर
मृत्युपछि
मृत्युपछि मलाई नजलाउनू
नदफ्नाउनू
बरू कुनै कालचक्रको कुनै रूखमा
उल्टोपारेर झुण्डाउनू
कुनै कङ्काल जस्तो।
ताकि मरेपछि
यो संसारलाई
सीधासँग देख्न सकूँ।