आरोहण

मेरा रचनाहरूको पठनको निम्ति तपाईंको प्रवेशलाई हार्दिक स्वागत

कविताहरू

मुख

कॉंटी ठोकेका जस्ता देखिन्छन्‌ दॉंतहरू।
जिब्रोको सुरक्षामा बसेको हो कि
जिब्रोलाई बन्दी बनाएको हो।

फुटेको ओंठभित्र
साङ्ली घसार्छन आवाजहरू।

भित्रबाट भद्दा गीतले मुन्टो निकाल्छ
साउती जस्तो बज्छ
पीढ़ा हो कि त्यो
बिरोध हो।

खिया पलाएका दॉंतहरू
मञ्जनबिनै बस्छन्‌
ठँस्स गन्हाएर।

जब गेट जस्तो खोलिन्छ दॉंत
त्यहॉंबाट भुर्र उड्छ
दबिएका पुराना सास
दुर्गन्धको पखेटाले।

कै गन्हाएको
व्रत बसेको गाउँलाई?

गान्धीजीलाई भजन बनाएर हिँड़ने साधुहरूको निधारको धर्का
कुन घर जलेको खरानीको हो?
घरै जलेको हो कि
जमीन।

पुरानो पीढ़ाको स्वाद
दॉंतमा अझ अल्झेको छ कि क्या हो।

दॉंतै फुक्लिएपछि जिब्रोले पाउने सास्तीको कथा
हामी मिलेर लेख्नु पर्छ होला
हो कि इन्द्रबहादुर राईज्यू?




कविता र समालोचना

सङ्घारको मान्छे
न आँगनको
न घरको।

त्यसको दाबीको झुस्लुङ्ग अनुहार पढ्ने
सांसदको चश्मा नै फुटेको छ।

संविधानबाट पल्टेर भर्छन
किर्ना जस्ता अक्षरहरू।

ती नै अक्षरहरू
इन्द्रेणी जस्तो टल्किन्छ
राजनीतिमा।

रङ चिनेर पनि
त्यो अक्षरमा डुब्दैन

र रङ नै नभएको अक्षरहरूको हल्लाले छोपिन्छ
जिम्लिएका बोलीहरू।

चिन्नुभो घनश्याम नेपालज्यू
त्यो मान्छे को हो?

अर्थदेखि उता


मलाई लक्ष्य गरेर पठाइनेे घृणा
ठेला उठेको हत्केलामा राख्न सक्छु
म।

बतासलाई
ढोका खोलेर राख्नु सक्छु
यसो भनौं कि
ढोकाबाहिर नै त्यसलाई उभ्याएर
पीढ़ा दिन सक्छु।

परीक्षा त्यसले गर्छ
जो शङ्‌काले निर्मित छ।

हुनसक्छ कि
निर्णय कसैकोे निजि अधिकार हो।
जुन हत्केलामा अधिकार छ
त्यही हत्केलामा
सत्तालाई औंली तेर्साइरहेको रेखा पनि हुन सक्छ।

विश्वास-अविश्वास
फरक अर्थ होइनन्‌।

त्यही हातले ढुङ्गा उठाएर बनाएको देउरालीमा
त्यहा हातले पाती चढ़ाउँछ
के अर्थ यो घटनाको?

भत्किएको मन्दिर
कि त त्यसको सिकुवामा
टुक्सुक्क बस्ने शान्तिको
के भाग्य
के दुर्भाग्य।

शान्ति-अशान्ति
फरक अर्थ होइनन्‌।

अनुभूतिको छाया हुँदैन
किन भने आकार हुँदैन।
आकारबिना,छायाबिना त्यहॉं घटनाहरू आउँछन्‌
जान्छन्‌।

घटना-दुर्घटना
बेग्ला-बेग्लै अर्थ होइनन्‌।

हुन त संवेदनाको के रङ
शब्दको के स्वाद
पीढ़ाको के भाषा।

घृणा-प्रेमलाई
एउटै अर्थी दिने नियति तोक्ने
न तिमी
न म।


देशमाथि अराजक कविता

फुटाइदे मिरजाफर
त्यसको अन्धो आँखा
मूर्ति त हो त्यो।

बॉंदरहरू
गान्धीजीको गाउँ खोज्दै पसेका छन्
नाथुरामको गाउँ।

रामनाथुको गाउँ
धूपको धुवॉंले निस्सासिबस्छ।
आँखा फुटेपछि सकिन्छ
मूर्तिको देख्ने नाटक।

त्यसपछि जतिनै चलोस् आतङ्कीहावा
देशनै भॉंच्चियोस् ठ्वाक्कै
त्यसलाई के।

त्यसै पनि त्यसको बाइफाले दृष्टिदोष
गर्भवती भइबस्छ।
देशभरि चलाइएको राजनैतिक बलात्कारलाई
जबसम्म पूजा गर्छ पाखण्डवादले अनि
जबसम्म त्यसको सुरक्षाको निम्ति द्रौपदीले साड़ी खोल्छ
देश भासबाट उठ्दैन।
र छुँदैन गान्धीको जनै।

देश र वेद्को यो शीतयुद्धलाई
बॉंदरहरूले घॉंटी निमोठ्न सक्तैन।

फुटाइदे, त्यसको बहिरो कान
माटो त हो त्यो।

गर्भनिरोधकहरूको आवाजभित्र
सधैँ हराइपठाउने वेद्को वाणी
बॉंझो बन्दै गइरहेको छ।

वेद्लाई थाहा छैन
प्यान्टीको सुर्काउनी
कुन कम्पनीको उत्पादन हो।

वेद् र ब्रह्मको कोत्रे अनुहारलाई
किन कुनै कम्पनीले फेसियलफेसिलीटी स्पोन्सर गर्दैन?

शाहजहॉंले काटेको हातले बनाउँछ
टेस्टट्यूव बेबी।
-जसले टेक्तैन लुते लठ्ठी।

बूढ़ो
लौरोले जीउ थेग्न नसक्नेगरी उभिएको छ
आफ्नै नामको बद्नाम चोकमा।
फुटाइदे त्यो चश्मा
जसमा लागेको छ बारूदको धुवॉं।

अब बिना आतङ्क बॉंच्नु छैन हामीलाई
हगी टिस्टा?

फुटाइदे त्यो माटोको आदर्श
जसले बोक्न सक्तैन माटोकै मर्यादा।

अब कस्सैलाई मर्यादित् बॉंच्ने हक छैन
अब कस्सैलाई विशिष्ट बॉंच्ने अधिकार छैन।

पत्यार लागेन?
एसएमएस माग्नुहोस् त
देशका बॉंदरहरूलाई!

पठन-1

फिनिक्सको कथा पुराण जस्तै सुनाउँछ
र मलाई बॉंच भन्छ
अक्षर।

बॉंच्न अघि म त्यो कठोर यातना सम्झन्छु
जसलाई भोग्दा
क्षयरोगी भए आवाज।
पीढ़ा सम्झन्छु त्यो
जसको वितरणकक्ष सम्हालेर बसेका छन्
पान चबाएर रातो थुक्ने लाल साहेबहरू
उनीहरू रा...तो हुँदा
हाम्रो रङ हराउँछ।

रोबर्ट ब्रुस डोरीबाट झर्छन् र पानी हाल्छन्
जरा काटिएको स्वाभिमानको बोटमा।
खुइलिएको इतिहासलाई झोला जस्तो बोकेर
हामीले हिँड़ेको
नदी किनारको बालुवामा अब त कुनै डाम समेत छैन।

किनारको पाइलासम्मै उर्लिएर आउँछ
रणनीति।
मेरो उपस्थिति पखालेर भाग्छ।

तर्न नसकेको त्यो नदी
झन गहिरो-झन गहिरो बन्दै गइरहेको छ।

दैलो खोल्ने बित्तिकै घाममा टल्केको
केही अक्षर पस्छन्-

पढ्छु म-किनाराका आवाजहरू।
मनप्रसाद सुब्बा र रेमिका थापा आउँछन् र देखाउँछन्
भुइँ टेकेर बॉंच्नेहरू-को सबर्ल्टनको शीर।


पठन-2

ई-अक्षरहरू डाउनलोड गरेर
कागजमा हेर्दैछु म
प्रिन्टरबाट निस्किएको मेरो पाठको आजको आँखा।

मलाई यत्ति चाहिएको हो
आज बुझ्ने
डा. गोबिन्दराज भट्टराईको पोस्टमोर्डन लिटरेचर-माथिको लेख।

विचार ठुन्का-ठुन्का भएर छरिएको
एक्स् रे हेरेर
पाठकलाई लागेको रोग चिन्नु अघि
मेरो स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपले औंली उठाउँछ।


तक्निकीको पछिपछि कुद्ने कविले
गरेको उत्पादनको वकालत
कम्पनीको विज्ञापन हो कि उसको कला?

मेरो नाममाथि हुन नसकेको तर्क
उसको दाममाथि हुन्छ।

गाईको थुन निचोर्ने औंला
अमूल मिल्कको प्याकेट निचोर्दै गर्दा
कविता पढ्ने पाठकले
विज्ञापन पढ्छ?

प्रकृति र विज्ञानसँगसँगै कुम मिलाएर उभिएको छ अघिल्तिर
मैले दुइमा एकलाई राम्ररी चिन्न सकिन भने
विश्वको सबैभन्दा इमान्दार अन्धो हुन्छु म?

आज पनि
घरमा पढ़ेको चेतनभगतको किताबको रिव्यू
नेट-मा पढ़ें मैले।


राजमार्गमा अक्षरहरू

राजमार्गमा पथ अवरोध गर्न बसेका अक्षरहरू
अखबार र टेलिभिजनबाट छरिन्छ।
त्यसैले बटुलेर कुरा गर्दैछु म
तपाईं?

लुते सरकारी अक्षरहरूलाई प्लास्टिकमा हालेर झरीबाट जोगाउने त्यो रत्नेलाई
हाईस्कूल फेल भएकोमा खेद छ।

अर्द्ध परीक्षा हुँदै गर्दा स्कूल पुग्ने
सरकारी क-खहरू
छिप्पट जुङ्गामा उनिएर बस्छ
टाउकोमा छिर्दैन।

चुहुने छानामुनि हुर्किने अक्षरहरूलाई
झरीको पनि डर; हुरीको पनि डर।

डरहरूको औंली समातेर
भत्किएको सिँड़ी उक्लँदा
चुट्टिएको चप्पल बोकेर
सड़कमा आइपुगेको शिक्षालाई
हनहनी ज्वरो आउँछ
ओखती खोज्न जङ्गल पसेकी बोजु
रूख नभेटेर फर्किन्छन्।

रूखहरू ट्रकमा गएर
मधेशमा घर बनाउँछन्।

त्यो घरमा
टाई बॉंध्ने ए.बी.सी.डी-हरू बस्छन् अनि
क-ख-हरूको विकासको निम्ति पोलिसी बनाउँछन्।

भत्किएको सिँड़ी बनाउन आएका
कचल्टिएका अक्षरहरूलाई थाहा छ
उसले कति जुलूस हिँड़ेको छ
कतिको घर भत्काएको छ
र क-कसलाई छप्काएको छ।

उनीहरूको गेड़ेका चन्द्रबिन्दु र रेफ्हरू
ओकार र औकारहरू
अझ पनि डाम जस्तो छ जङ्गी इतिहासको जीउमा।

एउटा सिँड़ी मरम्मति गर्न थुप्रिएका
थुप्रै अर्द्धअक्षरहरू लाप्पा पर्छन्।

विचाराहरू
सिँड़ी होइन पिँड़ी मरम्मतिको निम्ति
जुनै रणनीतिको मुखमा सिग्रेट झोस्न पनि सक्छन् भैंसी अक्षरहरू।

अहिले अक्षरहरू
प्राइमेरी स्कूलको प्वाल परेको भित्ताबाट छिर्दै
राजमार्ग पुगेका छन्।

राजमार्गमै अनशन बसेका अक्षरहरूको
फोटो खिँच्दैछन् पत्रकारहरू
सरकारहरू
र, हेर्दैछन् रमिता बॉंदरहरू।

लुते प्राइमेरी अक्षरहरू
हाइस्कूल र कलेजको आँगन टेक्दै झर्दैछन्
त्यत्रो अप्ठ्यारो पहाड़को बाटोबाट जोगिँदै
राजमार्ग आइपुगेका अक्षरहरू बटुलेर कुरा गर्दैछु म
तपाईं?
पोष्टर र पोखिएका अर्थहरू

पोष्टर टॉंसिएको छ समयको निधारमा।
टाइमपासहरू पढ्दैछन्
आफ्नै अनुहारको पुरानो बिसङ्गति।

समयलाई
चप्पलले टेकेर उभिएको त्यो आदर्शको छाती छोएर
भुइँमा झरेको छ विशाक्त हावा।

त्यही हावाले बोकेको खस्रो चिच्याहटले छ्याप्प भिजेको भुँइ फुटाएर
उम्रिएको बिरोधपदक्षेपको छिप्पट अक्षर
दह्रो छाती गरेर उभिएको छ पोष्टरमा।

पोष्टर भनेको कुनै गोर्खाको समसामयिक अनुहार त हो
जो कञ्चनजङ्घा जत्रो अग्लो भएपनि देख्दैन
अन्धो संविधानले।

पोष्टर भनेको यही भीड़को फिङ्गरप्रिन्ट त हो
जसले सधैँ थ्याप्चेको तोक्चे हालेको छ डरछेरूवा देशलाई।

पोष्टरमा कति धपक्क बलेको छ
चिन्हारीको घाउ।
कति बलियोगरी उभिएको छ
किनारमा उम्रिएको नेपाली अक्षर।
एउटा दह्रो मर्यादा हुने गरेको इतिहासलाई
बलैले उचाल्दै आएको सत्यको पानीफोका
हत्केलामा नै फुटेपछि
आह! कसले टॉंस्यो हँ त्यो पोष्टर?
नव-उपनिवेशकारी बोराको भित्तामा?

पोष्टरको कुनै संवेदन हुँदैन
कुनै आत्म हुँदैन
कुनै जात हुँदैन
पोष्टर र वर्तमानले एकैचोटी सासमा लिने
त्यो विष्मयकारी हावा
कत्ति जोड़ले चलेको
हर्नू गोर्खाहरूको खण्डहर स्वाभिमान उख्लिनेगरी हल्लिएको!

त्यो हावाको आँखामा देखिने रङ
कुन दलको हँ
त्यसको नाइके को?
एउटा त्रसित वर्तमान टेकेर उड़ेको परेवा
यसपाली पनि फर्किन्छ -फर्किन्न।

छातीको टॉंक खुल्लै राखेर
मर्यादा र स्वाभिमानलाई स्तन जस्तै देखाउने
सेलेब्रेटी राजनीति
देह धन्दा गर्दै गाउँ पस्छ।

त्यसको फिलाभरि पोखिएको स्वप्वदोषहरूलाई
रोटीमा दलेर बॉंड्छ
भोका भविष्यहरू जो पेट बॉंधेर बसेका छन्
कुच्चिएको थाल जस्तो निधार बोकेर
राजनीतिको कामुक भाषामा
कति छिटो साटिन्छ
मान्छेको मर्यादा।

सालाहरू

ती नै थालहरूबाट आत्मदाह गर्दै हाम्फालेका अक्षरहरू
पोष्टर टॉंस्दैछन्
हेर्नू
आफ्नै मरूभूमि छातीमा
लौ, हेर्नूनी फेरि
पोष्टरमा
पढ्दैछन आफ्नै खिल्लीहरू
किनारा परेका अर्थहरूले।

पोष्टरको त्यो ठूलो ऐनामा टल्किएका
जायज मागहरूको चहकले
हेर्नू नी कसरी चिम्लिएको छ
सरकारको आँखा।

रिङटोनको देश

-हेल्लो...
-क्याफेमा?
-ओके, ल ल...

1.
मल्टिकलर्ड हेल्लोहरूको माकुरी
जालबिचमच्चिँदै हल्लिरहेको रङहीन
आवाजलाईजीउ जोगाउन साह्रो छ
रिङटोनको देशमा।

गणतान्त्रिक हेल्लोहरूको उज्यालोमा
बिलाइरहेछ
रायोको साग उम्रिने गाउँ
हेल्लोहरू कै ईंटाले उभिएको छ
गाउँको ढुकढुकी।

निर्माण र पतनको सङ्घारमा छ
गाउँको अर्ग्यानिक संस्कार।
अब अक्षर र आवाज
न गोर्खाको रह्यो
न बङ्गालीको, बिहारीको न अङ्ग्रेजको
हिन्दु ईशाई न शिखको।

कसैसित रहेन आवाज
आफ्ना आवाजहरूको रङ बसेन अनुहारमा।
आवाज र अक्षरहीन संवेदना
फना उठाएर घिस्रिरहेछ
एलसीडी ग्लोबमा।

आइपट गाउँछ
भजन
सुन्छन् बहिराहरू।

भजनको भॉंच्चिएको जीउभरि सल्बलाइबस्छ
उपभोक्तावाद।
घर-घरको छाना हुँदै
सर्दै आइरहेछ
असम्वेदित् सलह सभ्यता
मल्टिकल्चर्ड झण्डा बोकेर।


स्कुसको जरा र फर्सिको मुन्टा
कुखुराको सुलीले बॉंचेको डल्ले खुर्सानीको सम्झना
कति बल्झिन्छ शहर पसेको गाउँलाई।

आह!
कति साह्रो पर्छ अचेल
आँगनका दुबोहरू टेक्दै-टेक्दै
नागबेली बाटो ओहोर-दोहोर गर्नु
गाउँ फर्केको शहरलाई
फिता चुट्टिएको चप्पलमा।

ठूलो मल्टिकलर्ड झोला भिरेर
रिङटोनहरूको फेरी बजाउँदै आइपुग्छ
अम्बानीहरू
घरको दैलोमा।

कति गाह्रो छ अहिले वेदलाई लाज राख्नु
ग्रन्थबाट एलसीडीमा घुस्रिएका मन्त्रहरू ट्याटु खोपेको पाखुरा देखाउँदै बस्छ।
सेल्फोनिक मनको भित्ताबाट उप्किदै झर्छ र मर्छ
संवेदनाहरू
एसएमएसको लिलिपुट अक्षरहरूले लेखिन्छ जीवनको नयॉं संस्करण।

( उः अर्जुन
एसएमएस गर्दैछ
एलसीडीभरि पोखिएको पुरूष
थाहा पाउँछे उर्मि।

असंवेदित् अनुहारको छॉंया दलेको नयॉं किताब पढ़ाउन
कसले ठड़ाएका हुन्
गाउँको चिसो हावा बग्ने डॉंड़ा-कॉंड़ा
टावरे स्कूलहरू?

हेर्नुहोस् त
देशको माटोको रङगाढ़ा, झन गाढ़ा बनाउँदै लगिरहेछन्
इकोनोमिक डॉंठहरू।

भन् त एइ मैते
तँ कुन दलको
रिलायन्स कि एयरटेलको ?


गहिरो

त्यो छिट्टै घर फर्किरहेको मनोज वोगटी
प्रेमकै उत्तेजनाले हो।

घरमा
निधारको रातो घामले
कोठै उज्यालो पारेको स्वर्गले तानेको दृश्य हो त्यो।

सबैथोक एकैसाथ बिर्सने समय जब आउँछ
उ ईश्वर बन्छ

त्यसैले बनाउँछ माटाको शरीर, आगो, पानी र सास...
अँ, सास हुरी बनेर लुक्छ कोठामा।
त्यही हुरीको आवेगले तानेको दृश्य हो त्यो।

स्वास्नीको सिउँदोलाई
कुनै व्यस्तताले छोप्दैन
कुनै हल्ले पखाल्दैन
त्यसकारण समयमा नै घर पुग्छ मनोज वोगटी।

पाठक
स्वास्नीमान्छे यस्तो गहिरो पोखरी हो
जसको सीमा हुँदैन।

पानी

त्यो फुटेको खेतलाई
एक थोपा शीतको कुन अर्थ लाग्छ?

कस्तरी गिज्यॉंछ नी त्यो खड़ेरीले
नमोलेको दॉंत र गिजाहरू देखाएर
मरूभूमिलाई?

मरूभूमि जीवन हो।

त्यो जीवनको पानीले नभिजी
थाहा हुन्छ
मरूभूमिको तातो बलुवाको रङ्गीन वसन्त?
जीवनको गहिरो डुब्न नसक्ने पातलाई
पौरखीको सपना के हो?
समुद्रको विपना के हो?
भिज्न नजाने
मरूभूमि हो जीवन।

पानीको कथा के सुनाउँ म
खड़ेरीलाई।

गाउँको छाया

नगरसङ्किर्तनको हुल गयो
गाउँको अपठ्यारो बाटो
गरिमामय भयो
गाउँको विहान।

दिनभर हिड़्छ त्यहॉं
छिप्पट निरङ्कुशता।
शङ्काहरू लुक्दै हिड़्छ
डाहाहरूले रालझार्छ
क्रोधहरूले कुन्नी कसलाई सधैँ ढुक्छ त्यहॉं।

गाउँलेहरू दोधारमा छन्
कुन बाटो हिँड़्नु पर्ने हो
जीवनमा।

धुपको सुगन्ध हो कि गन्ध
त्यो बाटै-बाटो उड़िरहेको छ
अहिले।

शब्द

१.शब्दको पखेटा हुँदैन।
शब्दलाई उड्न पखेटा पनि पर्दैन।
शब्द उड़्छ तर
उड़ेर कता-कता पुग्छ।

शब्दलाई छुनेहरूले जीवनलाई छुन्छ।
शब्दलाई भेट्नेहरूले जीवनलाई भेट्छ।

शब्दको खुट्टा पनि हुँदैन।
शब्दलाई हिँड़्न खुट्टा पर्दैन।
शब्द हिँड़्छ तर
हिँड़ेरै नाघ्छ अर्थको हिमाल
पुग्छ त्यो अथाहको सुग्घर घरमा
त्यहीँ बसिरहँदैन।

शब्दसित त्यो एकान्तमा पुग्ने कविलाई
एकान्तको गहिरोले सिकाउँछ
अग्लो आस्था।

गहिरो आफैमा कति अग्लो हुन्छ
शब्दले नाप्छ त्यो।

शब्द लेख्न सकिन्न
लेख्ने कोशिष मात्र हुन्छन् वेदहरू।

२.शब्द जहॉं छ त्यहीँ छु म
शब्दभन्दा टाड़ा केही छैनन्
मदेखि टाड़ा धेरै छन्।
मलाई टाड़ा पुग्न शब्द चाहिन्छ
शब्दलाई टाड़ा पुग्न म पर्दैन।

नाङ्गो

उज्यालो नाङ्गै आउँछ
उज्यालोले आफूलाई ढाक्दैन।

उज्यालोको गाउँमा
रात पर्दैन।

ईश्वर झैं हुन्छ उज्यालो।

उज्यालोको पनि दुश्मन हुन्छ
त्यो दुश्मनको नराम्रो अनुहार देर्न सक्तैन उज्यालो।

दुश्मन उसको गाउँमा पसेको थाहा पाएपछि
ईश्वरजस्तो उज्यालो पनि भाग्छ
उज्यालोको घरमा त्यो दुश्मन ईश्वर भएर बस्छ।

अँध्यारो नाङ्गै आउँछ
अँध्यारोको कुनै आवरण हुँदैन।
........................
......................

सीमा

त्यो कोमल फूलमा बस्छ
नङ्ग्रा बोकेको भवँरो।

गौरी भाउजुले गाइरहेकी त्यो भद्दा गीतको
कम्मर भॉंचिएको जीउ
सधैँ
पग्लिएको आँखाको चेपबाट हेर्छ
रत्ने दाज्युको बैंश।

मान्छेको शरीर प्लास्टिककै त हो
जो आगोले खुम्चिन्छ।
आगोले के छोड्छ ढुङ्गालाई
हिँउ त कोमल हुन्छ
न सुन कठोर हुन्छ।
आगो?
आगो न कोमल हुन्छ न कठोर हुन्छ।

त्यो फूलमा लागेको आगो देख्छ भवँरा
गीतको झिल्काले ढड़्छ रत्ने दाजु।

जब पग्लनु पर्ने समय हुन्छ
त्यसलाई कुनै बॉंधले रोक्दैन।
काठे संवेदना

काठे संवेदना

तिम्रो संवेदनामा काठ पस्दै गइरहेछ।

••

अब कुनै पनि शरीरबाट उड़ेर जानेछ लाजको सह
मरूभूमि मात्र हुनेछ शरीरको बालुवा।
तिर्खा-तिर्खा-तिर्खा
तृप्तिको हाहाकारमा बॉंच्ने छ संवेदना।

मृत्युको त्यो कालो भयले खोल्न सक्दैन
आँसुको ताला
प्रेमको त्यो कोमलता
सुक्नेछ
फूलमा।
-त्यसपछि कहिल्यै पुनरावृत हुनेछैन सृष्टिको वचन।

म तिम्रो खस्रो ओंठ छोएर भन्नसक्छु
त्यसलाई कोमलताको मातको सुगन्ध आउँदैन।

कति पातलो छ तिम्रो मनको पाप्रा
जहॉं आमाको मृत्युको एक थोपा शोक अड़िन सक्तैन।

तिम्रो आँखाको सुरूङबाट छिर्ने
संसारको वासनाको त्यो सौन्दर्य
कुनै कम्पनीको ब्राण्ड जस्तो टॉंसिएको छ
शहरमा उभिने होर्डिङहरूमा।

त्यो यान्त्रिक यौनको गर्मीमा
भटाभट मर्दैछ अनुभूति।

तिमी नै भन
च्याटिङमा आउने
टुक्रिएका अक्षरहरू
तिम्रा स्वास्नीको ठूल्ठूलो सासभन्दा अर्थपूर्ण छ?
••

तिम्रो संवेदनामा काठ पस्दै गइरहेछ।

प्रश्नको अर्थ


सुनको थैला र कविता
एकै हुन् बा?
••

बूढ़ो किसानको हत्केलाको ठेला
उसको छोरोको पेट हो
अनि उसको निधार चाहीँ तिम्रो किताब।

तिम्रा
कलिला क,ख-हरू
गाउँहरू हुन्
शब्द जिल्ला,वाक्य राज्य
अनि कविता चाहीँ तिम्रो देश।


धानका गेंड़ाहरू
तिम्रो आमाका आँखाहरू
जहॉं अग्लिएका छन्
सपनाका हिमालहरू
अनि तिम्रो विपना चाहीँ त्यसको आरोही।

यही गाउँको हावा
देशको सास।
तिमी त्यो सासको गहिरोमा जबदेखि डुब्नसक्ने हुनेछौ
त्यसबेला
तिम्रो प्रश्नबाट भुर्र उड़्नेछ
दुइ पखेटा अर्थ।
••
सुनको थैला र कविता
एकै हुन् बाबु?


स्पेस


अघि हिँड़्नेहरूको पाइलाको धुलोले
ड्याम्म छोपेको छ
स्पेसको बाटो।

पुरानो बाटो भत्काएको भ्रमको
मीठो निद्रालाई
विचारको अँध्यारो कोठामा सुताउनेहरू
ब्यूँझिएको रिहर्सलको बतास चल्छ
बतासमा कता-कता टुक्रिन्छ विचार। टुक्रिन्छ।
कता-कता छरिन्छ संवेदना। छरिन्छ।

बतासमा भत्किबस्छ नी!
पारम्पारिक सत्ताको घर।

पछि-पछि कुदिबस्ने
आलाप, नारा, मानसिक रोगी घोषणाको अनुहार
चिन्दैन
(किन चिन्नु?)
स्पेसको अर्को फाटक टेक्ने पस्पेसराइडरले।

कति रिस् जस्तो चर्किबस्नु?
जोड़िन नसक्ने जङ्गली संवेदनाले। कति चर्किबस्नु?
हँ अक्षर
कति फिँज जस्तो फुटिबस्नु?

( बाटो हुँदैन
बाटोको घर, परिवार
आफन्त, छिमेकी संसार केही हुँदैन।
बाटाले भत्किनु, बनिनु पर्दैन।
बाटो नै हुँदैन । हुँदैन बाटो।
कहॉं छ बाटो?)

बाटो बनाएँ भन्नु
लुते घोषणा हुन्छ।

अघि हिँड़्नेहरूले
खोसलिराखेको
नाङ्गो(?) सत्यमा
ओभरराइटिङ गर्दै बस्नुको
घमण्डको बेलुन सधैँ फुल्लिबस्छ। फुल्लिबस्छ।
जब त्यो फुट्छ, त्यो फुट्छ
त्यसको आवाजलाई
नयॉं-को अवतरण मानेर आरती गाउने
गाइनेहरू
किलामा गोरूहरू झैं घुमिबस्छ। घुमिबस्छ।

किन डराउनु?
त्यो जोड़ले रिसाउने पाठकसित।
त्यसले त्यसको पाठलाई
त्यसको निजी पतलुङ जस्तो पैह्रेको छ।

पछि हिँड़्नेहरूको पाइलाको धुलोले
फेरि ड्याम्म छोपेको छ
अर्को स्पेस।
हाइवेक्रसमा प्रश्नहरू

चिसो चुल्हाको खरानी बुङ्...ङ उड़ाएर निस्कन्छन् प्रश्नहरू।
बॉंझो कोख जस्तो खेत चर्....र चर्किएर उभिन्छन् प्रश्नहरू।

खड़ेरीहरूको जुलूसमाथिवर्षने
त्यो निरंकुस असीनाको विरूद्धले आयोजित जनसभामा
प्रश्नहरूले टोपी खोलेर पुस्छन्
निधारको पसीना।

पसीनाहरूले हजारौं 27 जुलाईको शीर्षकनिधारमा टॉंसेर हेर्छ
माटोको नक्सा
जहॉं सपनाहरूको मानचित्रको कलिलो आङलाई रगतपच्छे पारेको छ
मधिशे कागले ठुँगेर।
अहिले एक-एक नीलडामहरू फुटेर निस्किएको छ
पीपहरूको स्वर
जसले थर्किएको छ नलकुपभित्रका लामखुट्टेका अण्डाहरू।

प्रश्नहरूलाई सम्बोधन गर्ने प्रतीक्षा
अझ हातमा बोकेका छन्
हरेक सिकुवाका निलाम्मे बिहानहरू
बिहानहरू
जसलाई अँध्यारो कोठामा हातखुट्टा बॉंधेर लड़ाइएको थियो
जसले दिउँसोको घामको सपना
देखेको थियो गहिरो गर्भबाट।
अब बिहानहरू दिउँसोको चर्को घामलाई अङ्गालो मारेर नॉंच्न चाहन्छन्
आफ्नो नयॉं राज्यीय गीतमा
जुन गीतलाई साङ्ली लगाएर राखिएको थियो
कुनै कोठीको गुप्ती कोठामा।
प्रश्नहरू उर्लिन थालेका छन्
गाउँका बाटोहरूबाट बगेर
हाइवेहरूमा/विल्डिङका गल्ली-गल्लीमा।
उनीहरूको अनुहार जस्तो चिसो भूइँमा
पलेंटी मारेर बसेका छन्
रगतका मुट्ठीहरू
अनशनमा।
संविधानका खिँड्की फुटाउ नेहरु
इतिहासका सिँढ़ी काट्नेहरू अनि
भूगोलका घुरेनबारी मिच्नेहरूको
भद्दा भूँड़ी फुटाउन
हाइवेक्रस गरिसकेका छन्
कुर्कुच्चा र ठेला फुटेका अक्षरहरू
अब कसले रोक्ने
यी निरक्षर प्रश्नहरूको
बलियो आँतलाई?
अब कस्तरी उभिने हुन्!
पसीना गन्हाउने प्रश्नहरू सामु
अहिलेसम्म सफफा बसेका उत्तरहरू।


पोस्टर

पोस्टरको सम्वेदना हुँदैन।

छात्तीको चेन खुल्लै राखेर
स्वभिमानलाई स्तन जस्तै देखाउने
सेलिब्रेटी राजनीति
अहिले
देह धन्धा गर्दै पसेको छ गाउँमा।

त्यसको फिलाभरि पोखिएको
स्वप्नदोषहरूलाई
जाली शब्दको जॉंतोमा पिसेर निकालिएको
छलहरूको पीठो बॉंड्दैछ।

भोका वर्तमानहरू
(जो भोकै भविष्यहरूलाई पेट बॉंधेर पचाएका छन्।)
निधारजस्तो कुच्चिएको थाल थाप्न उभिएका छन्।

त्यसको कामुक भाषामा
कति छिट्टो साटिन्छ
मान्छेको मर्यादा।

रित्ता थालहरूबाट टिपिएका अक्षरहरू
पोस्टर टॉंस्दैछन्
आफ्नै निधारमा

पोस्टरमा
पढ्दैछन् आफ्नै खिल्लीहरू
किनारा परेका अर्थहरूले।

पोस्टरको ऐनामा टल्किएका मागहरूका चहकले
अहिलेसम्म चिम्म छ
सरकारको आँखा।


छॉंया

चित्रकार जस्तो घाम
मेरो छॉंयाको
अमूर्त अर्थ बोकाउँछ
रङहरूको धर्कालाई।

म सधैं मै भइबस्न सक्तिनँ रहेछु
मलाई सधैं मै जस्तो भइबस्न नदिइँदो रहेछ
-छॉंया पढ़ेपछि
ज्ञानले पखेटा हाल्छ।

मान्छेको इच्छाहरूमा पलाएको ऐंजेरू
कतिबेला फुल्छ
वसन्तलाई थाहा हुँदैन।

मेरो अनुहारको रङ कतिबेला उड्छ?

आवाजहरू कॉंधमा बोकेर
ओहोर-दोहोर गरिबस्ने सेता बकुलाहरू
मेरो कथाका अक्षरहरू हुन्।

ती अक्षरहरूलाई
स्वभिमानको ब्रेलले छामेर
क्रोधित भइबसेको
मेरो वर्तमानको नक्शा

मेरो मेनिफेस्टो।

यतिबेला
घामले
मेरो अनुहारको रङ सार्न सक्छ?
मेरो वर्तमानको छॉंयामा?


आँखा फुटेको क्रोध

क्रोधको जब आँखा फुट्छ
त्यसले आफ्नो हिंस्रक अनुहार नै देख्दैन।
त्यो अन्धो क्रोधलाई
घरि-घरि आवृति गर्ने
त्यो को हँ?

बाघको छाला ओढ्छ अनि
कट्टुमा छेरिन्जेल हिनहिनाउँछ त्यो आँखा फुटेको क्रोध।
केही देख्दैन त्यसले
आफ्नो टाउको भन्दा अग्लो।
देख्नु भो?
त्यसको विक्षिप्त आवाज
कोमलता छेंड्दै कुद्न शुरू भयो।
कहॉं ठोक्किने हो कुन्नी त्यो अन्धो!
त्यसको फुटेको आँखाबाट ह्वारह्वार्ती निस्किएको
त्यो अहमी आगोमाको ढड्छ?

छाला ओढ़्दा बाघ हुने
त्यसको हिंस्रक मानसिकताको हातखुट्टामा कति बल छ?
लड्न उत्रिएको त्यसको घोषणाको निधारमा
किन चिट्चिट् पसीना?
बाघको छाला ओढ्नु
त्यसको नयॉं अभिव्यक्ति।
त्यो नयॉंको भ्रमले कमजोर पारेको
त्यसको संवेदना सधैँ बचाउनु
सधैँ रट्छ त्यो
विदेशी अथरहरूको उत्तराधुनिक वेदमन्त्र।
त्यहॉंबाट थुतिएको विरानो फेडेट विचारमा
रङ थपेर रमाइरहनु
त्यसको नित्य व्यायम।
भन्नुस् त
आँखालाई रङमा चोबेर
कसरी देख्छ त्यसलेआँगनको इन्द्रेणी?

शब्दहरूत्यसको क्रोधित् संवेदनाको किनारा खोज्छन्
त्यो भेटेपछि देख्छन्
त्यसको किनारीकृत संवेदनाको उराठ जङ्गल।
झड्याङझड्याङ गर्जिबसने
विक्षिप्त संवेदनाको जङ्गलमा
त्यसले बॉंधेर राखेका निर्दोष अक्षरहरूको उन्मुक्तिको गीत गाईबस्छ
कविता चराउने गोठालो समय
देशले कहिल्यै नदेखेको कुनै किनारीकृत टापुमा बसेर।

त्यो गीतांश यस्तो छ-
...लेतैं अक्षरहरूलाई लगाइदिएको जामाको रङ तेरो होइन
लेतैं अक्षरहरूलाई बॉंधेको डोरीको बल तेरो होइन
तँ किन तेरै कुरा बोल् भन्छस् अक्षरहरूलाई?
तँ किन तेरै छुरा घोल् भन्छस् अक्षरहरूलाई?
तँलाई बॉंच्न अक्षरहरूको कॉंध किन चाहियो?
ए अन्धो! नदीलाई त बग्न पर्छ बॉंध किन चाहियो?
भन् ए मूर्ख तँमाथि को-को चढ़ेको छ?
तेरो कॉंधमा बस्नेहरू को-को बढ़ेको छ?
आफै भोग् लेख्ने अक्षर तब अर्थ बलियोहुन्छ
कुनै राष्ट्रको लुते दर्शनले तेरो घरको छाना फेरिन्छ?
आफै बोक् जीउको भारी तब भार थाहा हुन्छ
कसैले लादेको आँखाको दृष्टिले आफ्नो छायॉं देखिन्छ?

छोड़्, छोड़्, छोड़िहाल् बन्दी ती अक्षरहरू
अक्षर तेरो गधा होइन तँ अक्षरको गधा होस्
छोड़्, छोड़्, छोड़िहाल् बन्दी ती शब्दहरू
शब्द तेरो दास होइन तँ शब्दको दास होस्॥

त्यसले आफ्नै अनुहारतिर फर्किएर
कहिल्यै नहेरेको अन्योलतालाई
सैद्धान्तिकरण गरेर बसेको छ।

त्यसले आफ्नै आवाजको तरलताको
स्वाद लिन नसक्नुको दागी सत्यलाई
सीमान्तिकरण गरेर बसेको छ।
भन्नुस् त
सिद्धान्तले फूललाई फुल्न रोक्न सक्छ?
फूललाई सीमानाले फुल्न छेक्न सक्छ?
कोमलता जति चुहिसकेको
उराठ पहाड़ जस्तो त्यसको अनुहारको होर्डिङबाट
उप्किएर झर्दैछ एक-एकवटा जङ्गली वासना।

त्यसको क्रोध यति बढ़ेको छ, यति बढ़ेको छ
कि त्यसको प्रत्येक छालले ठेलेर
त्यसलाई डीलमा पुर्याएको छ।

जब डीलबाट त्यो झर्छ
(माछा
माछा चारो मात्र देख्छ
चारोमा घुस्रिएको बल्छी देख्दैन।
त्यो सानो नर देख्दैन
जसमा बॉंधिएको छ बल्छी।
न देख्छ टॉंगो
जसमा बाधिएको छ नर।
त्यो हातलाई पनि देख्दैन
जसले समातेको छ टॉंगो।
माछा
देख्छ यी सबै दृश्य
जब उ पानी बाहिर हुन्छ।
निर्मल आनन्द।
हिन्दी कविताको अनुवाद
अनुवादकः मनोज वोगटी।)

कान खाने गर्जनबाट मुक्त हुनेछ
जीवनको लय।
कोमलता
फर्किएर पस्नेछ फेरि
अक्षरमा।
••