आरोहण

मेरा रचनाहरूको पठनको निम्ति तपाईंको प्रवेशलाई हार्दिक स्वागत

कृषकमाथि कविता(ऋङ्‌खला)

खेतमा अक्षर
<b>
(प्रकाशोन्मुख खेत शृङ्‌खला)


म पनि कुलैनबारी कै हुँ -आफ्नो परिचय दिँदा उनलाई मैले यसो भने।
अनि हाम्रो कुरा आत्मिक भयो।
कुरा गर्दै जॉंदा उनले भने-खेतको कविता पनि लेख्नू।
त्यसबेला मैले मनमा भनें -कसैले यो लेख भन्दा कविता लेख्न सकिन्छ?
श्र
लोक साहित्यिक एम.एम.गुरूङसित त्यसबेला भएको भेटघाटपछि आज आएर खेतमाथि मैले यी कविता लेखें। सॉंचो कुरो के हो भने एम.एम. गुरूङ सरले अह्राउनु भएर नै मैले यो लेखेको होइन। लेख्दै जॉंदा लेखियो। ती सबैलाई एकठॉंउ पार्दा खेतमा अक्षर भयो।
श्र
कवितामाथि धेरैले धेरै भनेका छन्‌। कविता भनेको खेत पनि हो, अहिले म भन्नसक्छु। खेत भनेको जीवन हो। साहित्यले त्यही जीवनको कुरो गर्छ। जीवनलाई बुझ्ने, अनुभूत गर्ने कोशिषमा लेखिने कलात्मक कुरा साहित्यबाहेक अरू केही हुँदैन। लेखिएका सबैकुरा तर साहित्य हुँदैनन्‌। लेखिएका सबै कुरा साहित्य मान्नेहरूको भीड़मा बसेर साहित्यको कुरा गर्नु कठिन हुन्छ। यस्तै कठिनहरूबीच खेत अनुभूत गर्ने कोशिषमा यी कविताहरू उम्रिए। नयॉं थोक लेख्नुपर्छ भन्नेहरू धेरै छन्‌। म नयॉं केही देख्दिनँ। खेतमाथि धेरैले लेखेका छन्‌। मैले यसरी लेखें। नयॉं भनेको यही भयो मलाई।
श्र
जब हिमालय दर्पण छोड़ेर म कृषक कल्याण सङ्गठनमा आएँ मलाई यहॉं आए पछि मेरो सिर्जनात्मक कार्य बिथोलिने हो कि भन्ने डर थियो। तर यहॉं आएपछि नै मेरो सिर्जनात्मकताले गति लियो। सङ्गठनमा रहेका कृषक साथीहरूसित मेरो उठबस शुरू भयो। यहॉं आएपछि नै मैले कृषकहरूलाई नजिकबाट बुझ्न पाएँ। उनीहरूको दुःख, सुखहरूसित हातेमालो गर्न पाएँ। सङ्गठनले पहाड़को कृषि एवं ग्रामीण विकासको निम्ति धेरैवटा पहल हातमा लिएको देखें अनि मलाई पनि उनीहरूमाथिका कविताहरू आयो। सङ्गठनका मूल सचिव विष्णु छेत्री दाज्यूले यी कविताहरू कृषकहरू समक्ष पुर्‍याउनु पर्छ भन्ने कुरोलाई गहिरोरूपले लिनु भएपछि सबैवर्गका पाठकको निम्ति नै भनेर यसको प्रकाशन भयो। आज म ती नै कृषकसाथीहरू अनि दाज्यू विष्णु छेत्रीमा आभार जनाउँछु यसरी खेतमा अक्षरहरू थुपारेर।
छोरा आरोहण अनि मेरी धर्मपत्नी भक्तिलाई पनि सम्झिएको छु खेतपुगेका यी अक्षरहरूमा।



हलीदाइ र खेत

बिहानको पहेंलो भजन जस्तो
घामकिरणले
टल्केको तरूणी खेतको जीउको पसीना
अनि त्यहॉंबाट धुवॉंजस्तो उड़ेको त्यसको कुमारीगन्ध

कुन्नि कसरी थाह पाउँछ
हलीदाइले।

दिनभर हलगोरूको पुरूषसित खेलेर
थाकेको खेतले पनि
कुन्नि कसरी थाह पाउँछे
हलीदाइको निधारमा भिजेको
कोमल सपनाको स्वर्गसुगन्ध।

खेतको अनुहार
पहिलोपल्ट गर्भ बोकेकी दुलही जस्तो सिनित्त छ।

हेर्दै जानू
केही दिनपछि
खेतलाई टेकेर कसरी उभिनेछन्‌
दुइपाते अक्षरहरूले।

त्यसपछि पढ़्‌नू फेरि
खेतको नयॉं शास्त्र।


बूढ़ा किसान
खेतमा उभिएर
पढ़्‌छन्‌ आफ्ना ती पसीनाहरूलाई।

उसले पढ्नसक्ने यो खेतको कवितामा
देशले
जीवनको कुन अर्थ खोज्छ कुन्नि !



खेतको विश्वास

बीऊ काड्ने सुनमायाले
ऋृण पनि काड्छे।

हुरी थेग्न नसक्ने
खेतको जवान कोदोको बोटको भरमा बॉंच्छ
उसको लुती सपना।

कोदोको दानाजत्रो उसको सपनाले
सधैँ देख्छ
खेतमा
झन्‌-झन्‌ बढ्दै गइरहेको ऋणको बोट।

उभित्र हुरी आउनलाई कुनै मौसम पर्दैन
तरै पनि उ किन कहिल्यै ढल्दैन?


बस्तीको गीत

मकैको जुङ्घा नै पलाए पनि
हुरी आउँदा भॉंचिन्छ।

सधैँ रहर भॉंच्चिने त्यो बस्तीमा
हरेक रात कोइलीले गीत गॉंउछ।

कोइलीले गीत गाएको मन पर्दैन
आमालाई
किन भने
कोइलीले गीत गाएको हरेक रात
उसलाई अघिल्लो रात मरेको सपनाको याद आँउछ।



सिलेटखेत


पहेंलो धानको बाला
किसानकी स्वास्नीमान्छेको
बुच्चे कानको निम्ति होइन।

...परिश्रमले फल्छ सुन
माटोमा...
-यसरी पढ्छे उसकी स्वास्नीमान्छेले खेतको शास्त्र।

कान बुच्चे भए पनि
आफ्नो जीवनको आवाज सुन्छे उ।

त्यो आवाजमा
भर्खर कलम थाम्न सक्ने भएको उसको छोराले
लेख्न थालेको अक्षरबाट
माटोको सुवास आउनु पर्छ।

तरै पनि
त्यो किसानले
स्वास्नीको बुच्चे कानको कविता
सिलेट जस्तो खेतमा कति पल्ट लेख्यो होला?



सपनाको मोह

खेतमा
जागित्रजस्तो डुल्छ
सपना।

चिप्लिने बाटो हिँड्‌दै प्राइमेरी जाने भुँइमानेले
कति कर गर्दा पनि
शहर प़ढ़्‌न पाएनन्‌।

सुँइको नदिई शहर पसेकी तरूणी फूलमाया
आमा खस्दा पनि घर फर्किनन्‌।

घरमा हुर्किरहेका कखराहरूको ओंठमा
सलक्क बढ़ेको छ जुङ्घा।

अब खेत सॉंघुरो भयो
खेतले पेट भर्दैन।

आफ्नै खेतमा
जागित्रजस्तो डुल्ने
आफ्नै सपनाको मोह कति हुन्छ भने
त्यही जागित्रको पूजा गर्न पनि
ऋण काड़ेको रातो भालेको भोक चढ़ाउँछ
त्यो देवीप्रसाद।


लाले


ठुल्छोरा खस्दा पनि नरुने हर्के
खर्च नपुगेर पढ़्‌न नपाएकी ठूलीको गनगनलाई
फिका चियाले निल्न सक्ने ऊ
लाले गोरूको आँखा पाक्दा
सुत्न सक्तैन।

घर र लाले उत्रो-उत्रै देख्छ उ।
उसको सपना र लाले
जब खेतमा झर्छ
घाम पनि हार्छ
झरी पनि थाक्छ।

किन हो कुन्नि
उसलाई
चमेलीको क,ख-भन्दा पनि बलियो लाग्छ
लालेको जुरो।

थला परेकी स्वास्नी छोड़ेर
खेत झर्दैगर्दा बाट्टैमा भेटेको
गाउँको शिक्षकलाई
लालेलाई लागेको पखलाको औषधीबारे सोध्छ।

लाले छैन भने बॉंच्न सक्तैन उ।
उ छैन भने के बॉंच्छ देश?



लालेहरू


लालेले पराल खॉंदा आएको आवाजले
ब्यूँझन्छ
थाकेर सुतेको पसिना।

अनि विस्तारै व्यूझन्छ
घर
खेत
देश।

लालेले पराल खॉंदा आउने सङ्गीतमा नाच्छ
जीवनको अक्षर।
अनि नाच्छ
शब्द
वाक्य र अर्थ।

पसिनाहरूको यो बस्ती
संसारको सबै भन्दा ठूलो अस्पताल हो
जहॉं सबै रोगको निम्ति
डाक्टर भएर बसेका छन्‌
लालेहरू।

हेर्नू
लालेहरूले खेतमा गरिरहेको
शैल्यचिकित्सा हेर्नु
कसरी झुत्तिएका छन्‌ ती फरेनर्स।



खड़ेरी

पसीनाहरू दिनभर काम गर्न आउँछन्‌
माटोसित खेलेर फर्कन्छन्‌।
पसीना माटोजस्तो गन्हाउँछ
माटो पसीनाजस्तो गन्हाउँछ

त्यो गन्धमा बॉंच्छ
बस्तीको भोक।
भोकहरू गीत गाउँछन्‌
हो हो माले हो हो -हरूको
स्मारकपत्र हातमा बोकेर।

हरेक शताब्दीले
माटो दिएर पालेका भोकहरूले
लेखेर पठाएको
सहुलियतहरूका अपीलपत्रको आँगनमा बसेर
आउने भोटकै समीक्षा गर्दैबस्छन्‌
नीति निर्माता मन्त्रीहरू।

खेत र ग्रामपञ्चायतसँगै बसेको
ग्रामसंसदबाट
न्यायपालिकाको मृत्युको खबर
ढुक्कैले सुनाउँछन्‌ मण्डल बाजे।

पसीनाहरूलाई पनि भोक लाग्छ
भोक लागेको देखाउँदैनन्‌ तिनीहरू।
ठण्डा महीनाको छुट्टी बिताउन आएका
शहरे पढ़न्ते छोराहरूलाई
अनौं थमाएर सामुहिक स्वरमा भन्छन्‌ पसीनाहरू-
...जोत्नू अब तिमीहरू आफै तिमेरका अक्षरहरू...

खेतको धानबाली अनि उनीहरूको होमवर्क
दुवैले
टाउकोभरि उठाएका छन्‌
ऋृण र दायित्वको एक थाक नयॉं संस्करण।

सरकार भत्किॅँदै बनिएको कति भयो
खेत जोत्ने हलो फेरिएन
न फेरियो खेत भिजेको हेर्ने सपना झुण्ड्याएर
आँखामा नै चर्किएको बूढ़ाबाको मोटो चश्मा।

हेर्नू,
यसपालिको भोट पनि खड़ेरीले नै जित्यो।



म र खेत

बाजेको पसीना रसिएर
उर्बराएकोेे माटोमा
संस्कार छर्न गएकी आमाको आँखा
झुल्किन्छ
खेतको डीलबाट।

आमाको आँखाबाट खसेको बर्खालाई
कॉंधमा उठाउने
पुरानो खेत
अहिले मै जस्तो जवान भएको छ।

बाबा भन्नुहुन्छ-
तँ र खेतभन्दा
ठूलो सम्पत्ति बाहेक
अरू मलाई चाहिएन।



हलगोरू


प्रत्येक रात
पहरा दिएर
खेतको सुरक्षा गर्ने
हलगोरूको जुरोबाट उदाउँछ घाम।
हलगोरूको जुरोबाट अस्ताउँछ घाम।

पहरामा बस्दा
रातभरि हलगोरूको खुरले लेखेको
खेतका नीलडामहरूको अनुहार
देशको मानचित्रजस्तो देखिन्छ।

हलगोरू छैन भने
कसले जोत्छ देश?

नजोतेको देशमा
संविधान उम्रँदैन
संविधान नै नउम्रेपछि
गणतन्त्र फुल्ने कुरा आउँदैन।

हलगोरूले रातभरि देखेको
खड़ेरी नलागेको
त्यो हरियो सपना
किन देखाउँदैन टीभीले?



आमा


आमाजस्तै राम्री लाग्छ मलाई
खेत।
खेत टेकेर उभिन सिकें
हिँड्न सिकें
संसार हेर्न सिकें।

खेतजस्तै लाग्छ मलाई
आमा।
लड्दा
मेरो सातो बँचाउन
माटोको टिको लाउँथिन्‌
खेत।
उठ्‌दा
हात समाउँथिन्‌
आमा।

आमा र खेतको मितेरी
म।
अहिले आमाको चिहान बनेको छ खेतमा

आमा उम्रने प्रतीक्षामा छु।


खर्कको अनुहार


कराइरहने माऊगाईको आखा बालेर
उज्यालिएको
त्यो किसानको घरको भित्तामा
हॉंसिरहेको
खबरकागजको बराक ओबामाको तस्बीरले
देख्दैन
किसानको मनको घाउ।

खबरकागज भित्तामा टॉंसेर सजाएको कोठामा
चुपचाप बसेकी
आशामायाकी लुती प्रतीक्षाले
आजै रातीको सपनामा पनि स्पष्टै देखिन्‌
परदेश लागेको लोग्नेको हस्टपुस्ट शरीर।

हलो बोकेर निस्किएको बूढ़ो किसान
त्यही पुरानो खेत जोत्दैछन्‌।
उसको निधार हेर्नु
कहिल्यै नजोतेको बॉंझो खेत जस्तै देखिन्छ।
सॉंझ धिप्रीको उज्यालोमा दूध उमालिरहेकी
किसानकी स्वास्नीमान्छेलाई
अँध्यारोे गोठबाट नै देख्छ
बँधुवा रोजगार खेपिरहेकी
दार्मी गाईको ममतीय आँखाले।

बिहानै टीभीमा देखिने देश जस्तो सफा छैन
यो खर्क
न खबरकागजको अक्षर जस्तो शिक्षित छ।

बराक ओबामा के बुझेर हॉंसेको हो हँ?
यो खर्कको दृश्य खाममा हालेर
राष्ट्रपतिलाई पठाईदिने जान्ने छोरा
कहिले फर्किने दिल्लीबाट!


गाउँको अर्थ


खेतबाट नै आउँछ आवाज
त्यही आवाज रेट्‌छ
रामसिंह।

खेत छैन भने
देशको भॉंच्चिएको हातमा
कसले बॉंध्छ काम्रा?

कसले धोइदिन्छ
तीरङ्गाको मैला?
खेतको उज्यालोको आरती तापेर बॉंच्छ देश।

गाउँ दुख्यो भने
भत्किन्छ देश।

खेतमा अक्षर

माट्टैसरिको हातमा बज्छ मोबाइल फोन। फोनबाटनै सुनाउँछ लालेलाई परदेशमा बोलेको छोरोको आवाज। फोनको नयॉं रिङटोन बज्दा लालेले कान हल्लाउँछ। लालेले बुझेको छ खेतमा उम्रेका नयॉं अक्षरहरू।

खेतमा मोबाइल बज्न थालेपनि उम्रन छोड़ेको छैन कृषकको सपना। अझै पनि बीऊ काड्छे हरिमाया। हर्के अझ पनि हली नै छ। लालेहरूको पुर्ख्यौली हड्डी कुहिएर बनिएको खेतमा उम्रने अक्षर पढ़ेर हुर्किएको देश कसको अनुहार?

खेतमा कुलो हाल्ने ठेलाभन्दा अग्लो छैन अमेरिका।
खेतमा उम्रने तोरीको फूलभन्दा सुन्दरी छे ऐश्वर्य राय?
बाङ्गोटिड़ो बाटोभन्दा ठूलो व्यामायल कहॉं छ?
सयबर्षे बूढ़ो चश्माबिना पनि देख्छ
आफ्नो अनुहारको चाउरी
ऐनामा।

यही गोठ हो
संसदभवन
जहॉं अचेल
दूध फाट्‌न थालेको छ
मही बिग्रन थालेको छ।
घिऊ जस्तो नीतिहरूमा कीरा पर्न थालेको छ।
गोठमा धूपबत्ती गर्न नजान्ने गोठालोहरू पठाएपछि
गोठको देउता बिग्रेको छ।

किसानहरू जुलूसमा छहामीलाई हाम्रै अनुहारको छाला चाहिन्छ
हामीलाई हाम्रै माटोको चिहान चाहिन्छ।

अक्षरहरू खेतलाई पढ़ाइरहेछ
टेक्नोपोलिटिक्स।

खेतमा लेखिएका लालेहरूको इतिहासलाई
किनारीकृत गर्ने लेखकराज्यका
रसायनिक मन्त्रीहरूको बिरूद्ध
कोदोको बाला जस्ता मुठ्ठीहरू
उठाउन सिकाइरहेका ती अक्षरहरूले पनि बोकेका छन्‌
च्यातिएका बाजेका अनुहारहरू।

धन



मकैका दाना हुन्‌ कि अक्षरहरू

भुरुरु उम्रेका छन्‌

खेतको पन्नामा।

त्यो निरक्षर कृषकको आँखाले के पढ़्‌दै होलान्‌?

वर्षौंपछि खेतमा अक्षर उम्रेको

कति राम्रो देखियो।

हगी?

पढ़ी गुनी के काम हलो जोती माम-ले पनि

कोट खोलेर पढ्दैछ त्यो

खेतमा लेखिन थालेको

अक्षरहरूको कविता।


अब अक्षरले नै थाम्ने भयो

हलो, हातमा।


बीउ र अक्षर

माटो र पन्ना

पसीना र मसीको यो नयॉं गाउँमा

तिमी पाठक पनि किसान

म सर्जक पनि किसान।

अब हामीसित कविता छ

यो भन्दा ठूलो सम्पति के छ?


काव्य



मकैको बीऊ फुटेको जस्तो

फुट्‌छ कविता


निधारमा पसीना उम्रेपछि

माटोमा रगत दौड़िन्छ।


अङ्‌कुर जस्तो जीवनले टेक्छ

ज्ञानको भुँइ।


संसार

हरियो र हावाले एकसाथ छोएर

जब त्यो जीवनलाई व्यूँझाउँछ

अनुभूति जस्तो व्यक्त हुन्छ सिर्जना।


विस्तारै सिक्छ त्यसले हुरीसित लड्नु

झरीसित जुझ्नु

आफ्नो पाइलाले आफ्नो भुँईमा उभिनु।


यो निरन्तर सङ्घर्ष

कति ठूलो काव्य हुन्छ

पढ़ियो भने।