आरोहण

मेरा रचनाहरूको पठनको निम्ति तपाईंको प्रवेशलाई हार्दिक स्वागत

आँखामाथि कविता(ऋङ्‌खला)

आँखाको गहिरो
कविताहरू
दृष्टि
कवि विचन्द्र भन्छन्‌-कविता लेख्न ठूला-ठूला ग्रन्थहरूको आवश्यकता छैन। कविता आफै आउँछ। आएर, लेख्न लगाउँछ कविलाई।
अरू पनि धेरै भन्छन्‌ उनी। अब कविताको स्वादमा के के खोज्न थालिएको छ। कसैले पनि तर त्यो के के -लाई यस्तो भन्न सकेका भने छैनन्‌। दलगाउँबाट जब म कालेबुङ आएँ, मैले मनमा सोंचेको कालेबुङ पाइनँ कालेबुङमा। आफ्नो सिर्जनात्मकतालाई अघि बढ़ाउन केही मिल्दा साथीहरूसित केही गरौं भन्ने प्रयासहरू कालेबुङ आएर गरियो। कालेबुङमा जीविकोपार्जन अनि साहित्योपार्जन दुवैको भुइँ खन्नुपर्ने स्थिति मेरो थियो। उमेश उपमा अनि सूरज रोसूरीसित केही नौलो गरौं भन्ने मेरो ढिपीको कारण विचलन जन्मियो। विचलनमा विचार भन्दापनि मेरो सोंचसित विचलनका सम्पादकहरूको विचारले त्यो मैत्रिकता पक्रिन सकेन। विचलनले कविता लेख्न मलाई आडम्वरी बनाइरहेको धेर बोधको कारण म विचलनमा रहिनँ। विचार स्वतन्त्र छ। अनि सबैले सबैको विचार मान्नु पर्छ भन्ने पनि छैन। अहिले त्यही विचलन खेप्नेहरूबाट हामीले सूधीर, जय र उज्ज्वल जस्ता राम्रा कविहरू मौलिएका पाएका छौं।
श्र
कविता विचार मात्र पनि होइन। बुद्धि र मन दुवैको सहकार्यमा कविताकर्म हुन्छ। कविता कुनै पनि फ्रेमभित्र बस्दैन। फ्रेमभित्र हालेर कविताको उमेर तोक्ने गैरजिम्मेवार कवि हुन सक्तैन। हामीसित कविता लेखेरै उमेर पाक्नेहरू पनि छन्‌। उमेर नै नपाकी पाकेका कविता लेख्नेहरू पनि छन्‌। तर कविता नै लेख्नेहरू भने थोरै छन्‌। म कविता लेखौं भन्छु, आफू पनि कविता लेख्ने यसरी कोशिष गर्दै।
श्र
मलाई आँखा साह्रै मन पर्छ। आँखाबाट म ज्यादै प्रभावित छु। जब जुन कुरोबाट म प्रभावित हुन्छु, कविता आउँछ। आँखा नहुनु मेरो कविता हुने थिएन। आँखामा डुब्ने कोशिषहरू हुन्‌ यी कविताहरू। आँखा र कविता एउटै जस्तो लाग्ने यो अतिवादी बोधदेखि कायल भएँ म। कवि मोहन ठकुरी, मनप्रसाद सुब्बा,श्रीमति सानुमति राई,केवलचन्द्र लामा,राजा पुनियानी,रेमिका थापाहरू यी कविताहरू लेख्न मेरा प्रेरक बनेका हुन्‌ अनि हुन्‌ उपासक पुस्तक पसलका दाज्यू सूर्य उपासक। कृषक कल्याण सङ्गठनमा आए पछि मलाई धेर सिर्जनात्म्क बनाएको छ। प्रिय दाज्यू विष्णु छेत्रीको आँखाबाट पनि मैले यी कविताहरू टिपेको छु।
मेरी धर्मपत्नी भक्ति अनि छोरो आरोहण, जसको आँखाले मलाई सधैँ कविता लेख्ने आँखा देखाउँछ। उनीहरूले देखाएको आँखाले देखेका हुन्‌ यी कविताहरू।

आँखाको फूल

तिम्रो आँखा फुलेको छ
मेरो गुलाबको बोटमा।

छुन सक्तिन म।

कति तिखा छन्‌ तिम्रा परेलीहरू
तिम्रो आँखाको पहरामा।

तिम्रा परेलीहरूसित
आँखा छल्न सक्तिन म।

आँखाको गहिरो


तिम्रो आँखामा लतपतिएको त्यो यौनिक रङले तानेर
कतै लगिरहेछ
मेरो लुते मर्यादालाई।

मेरो मर्यादा
आफ्नो सबै भन्दा सम्वेदनशील अङ्गलाई
पातलो स्वाभिमानले छोपेर
ठिङ्ग उभ्छ
आगोको दैलोमा।

तिम्रो आँखाको आगो पटक्कै निभ्दैन।

कता-कताबाट पग्लिन्छ हिउँपुरुष
कुनै पोखरीमा जम्दैन।
पग्लिबस्नुको यो मीठो स्वाद
जीवनको मीठो कविता
एक्लै भोग्छु म।

अर्धनग्न नायिकाको यो तस्वीरको गहिरोमा जति डुब्छ
मेरो मर्यादा
उति बन्द हुन्छ
उसको आँखा।

आँखाको अँध्यारो-उज्यालो हुँदैन

आँखा छोप्दैमा
अन्धा हुँदैन।

आँखा नहुँदा पनि देख्न सकिन्छ।
आँखा खोल्दैमा
सबै देखिन्न।

देख्न
आँखा पर्दैन।

फूल मन नपर्ने मान्छेले
आँखामा जति नै गाजल लगाएपनि
सुन्दर हुँदैन।

आँखा तबसम्म आँखा हुँदैन
जबसम्म उसले देख्न सक्तैन

उसले देख्न नसक्नु
आँखाको दोष होइन।

आँखाको निम्ति
उज्यालो पनि हुँदैन
अँध्यारो पनि हुँदैन।

निषेध

सपना देख्न
आँखा पर्दैन।

आँखाको फूलमा बस्न सक्तैन सपना।
सपनाको निम्ति
बलियो भुईं चाहिन्छ
उभ्न।

सपना देख्न सक्नेले मात्र
विपना देख्छ।

सपनाको आकार
विपनाको अनुहार जस्तो हुँदैन।

अन्धाहरू कस्ता सपना देख्छन्‌ हँ
दार्जीलिङलाई सोध्नू।

आँखाले सपना देख्न
निषेध गरिनुपर्छ
दार्जीलिङमा।

अर्थ



आमाको आँखा
अँध्यारोको निम्ति हो।

आमाबाट सिकेको
जीवनको यो अर्थ
घाममा
टल्किएको छ अहिले।

नदेख्नु


म अन्धोको कल्पना देख्न सक्तिनँ
अन्धोको अनुहार नै हुँदैन।

दृष्टि नहुँदा
मेरो छायॉंको दृश्य कस्तो हुन्छ
दृष्टिहीनले के भन्लान्‌?

म दृष्टिहीनको कल्पना गर्न सक्तिनँ।

आँखा भएर नदेख्नु
आफैलाई नदेख्नु।

आफूलाई नदेख्नेहरूले गरेको संसारको व्याख्याय
वेदमा छ?

घाउहरू



आँखामा मात्र लिङ्गठिङ्ग बोकेर हिँड्छ जब
मेरा घाउहरू।

अन्धा जस्तो दुख्नुहरूको लामो दिन टॉंगिन्छ
समयको कालो ब्ल्याकबोर्डमा।

घाउका आँखा कस्ता हुन्छन्‌ र
निभेका हुन्छन्‌
लाश जस्तो।

लाशमाथि
लिङ्गजस्तो ठिङ्ग उभिने आँखामा
को सुटुक्क पसेकाछन्‌ कुन्नि
छट्‌पटाउन थालेको छ।

आँखा



यही आँखा हो
पाप र धर्म।

मैले नदेखेर कुल्चिएँ
आफैलाई कुल्चिएँ

कुल्चिएको थाहा पाएपछि मैले देखें
पाप
पूण्यको खोल ओढ़ेर सँगै बसेको

पाप नहुनु
धर्म हुनेथिएन।

संस्करण



बाबाको आँखा भन्दा गहिरो छैन
कुनै समुद्र।

बाबाको आँखामा
संसार डुब्छ।

बाबाको आँखा बन्द भएको दिन
मेरो आँखाबाट बिहान उघ्रनेछ।

मेरो आँखा पनि बाबाको आँखा हुनेछ।

दुरत्त्व



आँखाहरू एकै हुन्नन्‌।

आँखा एकै भएदेखि
म मरिरहेको देख्ने थिइन्‌।

म बिना
ऊ मरिरहेको म देखिरहेछु।


प्रेम भनेको
आँखाहरू एकै हुनु त हो।

प्रेम



मेरा आँखाहरूबाट
उड़ेर गएका दुइ अक्षरको निम्ति
पिञ्जड़ा बनाउन सकिनन्‌ उनले।

एउटै भूईं टेकेर
हामीले हामी भेट्‌न सकेनौं।

मसितै छन्‌ ती दुइ अक्षर
आँखामा।

-बाजेको वियोगी प्रेम पढ़िरहेछु
बाजेकै आँखामा।

पल



कति कोमल हुन्छन्‌ आँखाहरू।
पग्लिन्छन्‌।

जब पग्लिनुले सीमा नाघ्छ
आँखै बगाउँछ।

आँखाको दृष्टि पखाल्छ।

हो
त्यतिबेला नै भत्किन्छ संसार।

आँखा छल्नेहरू


अँ
फुटेको आँखाले
सपना देख्छ कि देख्दैन हँ युङ?
...कविता पठन समाप्तिएको छैन...


मेरा आँखाहरू
सकेनन्‌ फुटाउन।

आफैलाई नदेख्ने आँखा यो
अरूलाई देख्छ
अरूले कसरी फुटाउन सक्छन्‌ त मेरो आँखा।


उनीहरू मेरो आँखासित आह्रिस गर्छन्‌
उनीहरूलाई नहेर्नु भन्छन्‌ उनीहरू
उनीहरूलाई नदेख्नु भन्छन्‌ उनीहरू

हेर्दा-हेर्दै
देख्दा-देख्दै
मेरो आँखा छल्नेहरू
आफ्नै आँखा छल्नेहरू
म मेरो आँखा छोप्न सक्तिनँ।

आँखा छोप्दैमा
दिन अँध्यारो हुँदैन
आँखा खोल्दैमा
रात उज्यालो हुँदैन।

मर्छु
तर आँखा छोप्दिनँ।


मरेपछि लाशको आँखा छोप्नेहरूले बुझुन्‌
लाशले आँखा देख्दैन।


...कविता जारी छ...

दुइ अक्षर


दुइ अक्षर
आँखाबाट सिक्छु म
प्रेम।


आँखा फुटे जस्तै हुन्छ
प्रेम नहुनु।

एउटा आँखा फुटे पनि अर्को आँखाले देखिन्छ संसार।
एउटा आँखा फुट्‌नुको वेदना तर
कहिल्यै फुट्‌दैन।

नफुट्‌ने पीड़ा
प्रेम नै त हो।


आँखाबाट सिकेको छु मैले
विछोड़ बॉंच्नु।

आँखाको हाइकु



छल्किन्छ आँखा
कोइलीको गीतले
बग्छ पहाड़।


खुला छ आँखा
अन्धो दार्जीलिङको
लुटिन्छ दृश्य।


अन्धो आँखामा
चश्मा भिर्छ पहाड़
र बेच्छ जीउ।

विचलन



केही देख्दैन
अर्जुन
भीड़मा।

हरियो साड़ी लाएकी द्रौपदी बाहेक
प्रेमको आँखाले।

कस्तो अचुक निशाना छ अर्जुनको ।


गाउँमा पञ्चायत बसेको छ।

नेपाल


बाहिर
बारूदको हावा चल्दैछ।

हिंसा हो कि गिद्ध हो
बसेको छ
बुद्धको काखमा।


कविताप्रेमको चरम असन्तुष्टिमा छु।

मेरो आँखाबाट खस्दैछ
पोखिएको रगत।

बिहानै मलाई हेरेर हॉंस्यो
सगरमाथा।

सगरमाथाको त्यो अतिथि सत्कार बोकेर
फर्केको छु म दार्जीलिङ।

किनारामा घाउ


हेरेर
कहॉं देखिन्छ गाउँको घाउ?

गाउँको घाउ देख्न
पखालेको हुनुपर्छ
आँखा
आमाको दूधले।

जाऊ
धोएर आऊ
आँखाको पर्दा,
अनि हेर्नू
कञ्चनजङ्घाको फेदमा झुण्डिएको
आमाको फाटेको चोलीबाट
छर्लङ्ग देखिने इतिहास।

त्यसपछि गर्नु किनाराको कुरा।

वश्वास


पहेंलो घाम छ
मेरो टाउकोमाथि।

छेउबाट नै गइरहेछ
अगमसिंह गिरीका कविताहरू
लेघ्रो तान्दै
के के
के के।

म फ्यॉंक्रेको पातले छॉंउदैछु
घर।


अचम्म भो
यसपालिको वर्खामा
मेरो आँखा भिजेन।

देशको मृत्यु


कसले चोर्‍यो
आँखाको देउता
बॉंदरहरूबाट?

बापूजी
जनतालाई बॉंच्न सिकाउन
बॉंदरको आँखा देखाउँथे।

मान्छेको आँखालाई हेर्न सिकाउने
बॉंदरको ईश्वर आँखा
कसरी चिने बापूजीले?

नहेर्नुहरूले खेदिबस्छ आँखालाई।
नदेख्नुहरूले छेलिबस्छ आँखालाई।
कति भाग्न सक्छ आँखा बापूको लौरो टेकेर?


बापूजी छैनन्‌। अहिले
बॉंदरको आँखाबाट पनि उड़ेर गयो
वाणीको चहकिलो रङ।

आँखाक्षर


उसका आँखाहरू
अक्षरहरू हुन्‌।

ती अक्षरहरू जब भुँइमा खस्छन्‌
मीठो कविता बज्छ
घरमा।

घर स्वर्ग बन्छ।

त्यो संसारको सबैभन्दा मीठो सङ्गीत
जसले थामेको छ जीवनको गह्रौं गरिमालाई।


ती अक्षरहरू
जब आँखामा जम्छ
मेरा दुःखहरूले मेरो साथ छोड़्‌छन्‌
मेरा सुखहरूले मेरो हात छोड्छन्‌।

जब
यस्तो हुन्छ
ती अक्षरहरूले मलाई जीवन लेख्न अह्राउँछ।

म जीवन लेख्ने कोशिष गर्दा-गर्दै बित्छु।
मलाई थाहा छैन म बिते पछि घरमा
त्यो सङ्गीत बज्छ कि बज्दैन।

खड़ेरीको अक्षर


भिज्न दिनू आँखालाई
आँखा भिज्दा
मन मलिलो हुन्छ।
जहॉं उम्रन्छ
हॉंस्ने आकांक्षा।
तिमीलाई थाहा छ
मनको आगो जब आँखाबाट निस्कन्छ
कसरी जल्छ मर्यादा
कसरी ढड्छ स्वर्ग।

भिज्न दिनू आँखालाई
आँखा भिज्दा नै
जीवन भरिलो हुन्छ
जहॉं फुल्छ
बॉंच्ने भरोसा।

पीड़ाको कुनै आकार हुँदैन
तरै पनि मनको कत्रो पाखा ओगट्‌छ यसले
पीड़ा फुट्‌दा त्यही पाखामा पैह्रो जान्छ।

पैह्रो गएको पाखामा
खड़ेरी मात्र उम्रन्छ।

अहो!
आँखामा खड़ेरी लाग्नु कत्रो अनिकाल हुन्छ।

भिज्न दिनू आँखालाई।



दाउरीको कविता


दाउरीको खुलेको आँखामा छ
सपनाहरू ढड़ेको कालो दाग।

त्यसको कोमल ओंठ
फक्रेको छ
खड़ेरीमा पनि।

खड़ेरीमा फुल्ने त्यसको सपनालाई छुन सक्तैन
कुनै आतङ्‌कवादी मौसमले।

त्यसको तल्लो पेटमा चल्मलाउँछ
बलियो कविता।

दाउरीको
लुते छालाबाट आइरहेको त्यो गन्धले
कति मातेको छ समय
आह!


बगलीमा छुरी लुकाएर
दाउरीको जीवन च्यात्ने
घनश्याम नेपालहरू
कहिल्यै नपुगुन्‌
दाउरीको घर।